कविताः यात्रा

पिपला ढुङ्गाना

खास सपनाको बिस्कुनमा
खास खुसीको बिस्कुनमा
अनि खास प्रेमको बिस्कुनमा
घुन भगाउनमा अनि
चिल्सा उडाउनमा

बत्ताउनमा र निफन्नमा
म यसरी अल्मल भएँछु कि
म के निफन्दैछु र के बत्ताउँदै छु
के भगाउँदैछु र के उडाउँदैछुमा

जिन्दगीले आफ्नै खुसी उडाउन्जेल
समयले उल्टो फेरा नलगाउन्जेल
बत्ताइरहेँ नाङ्लोले, र निफनिरहेँ
हटाउनलाई तिम्रो निम्ति
हानिकारक सबै सबै जिनिसहरू

र पनि
तिमी अझै बेखुसी नै बन्यौ ।
रित्तो रित्तो बनेर खन्याउँदासम्म
अनि बल्ल आँखा खुल्यो मेरो
अनि बल्ल सम्झिएछ मनले
तिम्रो तृष्णाको तृप्तीलाई
तिम्रो चाहनाको आकाशलाई
मेरो रित्तिनुले खास फरक पर्दैन रहेछ ।

अनि
उहीँ दिनदेखि सिकेँ मैले
समस्या तिम्रो तृष्णामा छ
समस्या तिम्रो चाहनामा छ
मैले अथक नभएर व्यर्थ प्रयत्न गरिरहेछु
र त आजभोलि
आफ्नो निम्ति बाँच्न सिक्दैछु
आफ्नो निम्ति हाँस्न सिक्दैछु
सक्किएको समयदेखि बाँकी समयसम्म
विनाकुनै गुनासो विनाकुनै पश्चाताप
अनि विनाकुनै आग्रह पूर्वाग्रह

म जिन्दगी दौडाउने होडबाजीमा छु
आफैसँगको प्रतिस्पर्धा लिएर
आफैसँगको दौडमा
आफैसँग बाजी लगाएर
नितान्त आफ्नो लागि छुट्टयाएर समय
गर्दैछु आराधना आफ्नै आत्मसम्मानको
भन्नेहरूले स्वार्थी भन्लान्
देख्नेहरूले धोखेबाज देख्लान्
बेपर्वाह हिँड्नुछ मैले समयको रफ्तारमा

किनकि
उत्तर फर्काउने जिम्मा मेरो मात्रै होइन
मलाई हाँसेको देख्नेहरूले
खुशी देखिनुभित्रको पीडा देखेनन्
जब जिन्दगी एक्लै रोयो
देखेनन् आँशुको डुबानमा परेका मेरा आँखाहरू
र पनि
बाहाना गरेरै खुसी बनिदियो जिन्दगीले

चोटको खाडलभरि
आत्मसम्मानको मल्हम लगाएर
बिर्सेर अतीत दौडनुछ बाँकी जिन्दगी
नगरेर अबेला
निस्कनुछ खास आफ्नो
मात्रै आफ्नो यात्रामा
छाडेर झोलि गुण्टा
ताकि
नअल्मलियोस् बाँकी जिन्दगी
दुनियाँलाई खुसी बनाउनमा
भित्रभित्रै पिल्सिएर आफू ।

source: ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *